ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बाढी पहिरो र प्रकोपको उच्च जोखिम रहेका क्षेत्रमा पूर्व साबधानी अपनाइएको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै अध्यक्ष गुरुङले यस्तो बताउनुभएको हो । पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रमा तटबन्धन र बाँसका बिरुवा लगाउने काम गरिएको छ ।
आउँदो बर्ष भित्रमा प्राकृतिक प्रकोप जन्य घटना न्यूनीकरणका लागि सरकारसंग मोटो रकमको माग गरिएको समेत अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
भौगोलिक हिसाबले बिकट क्षेत्र भएकाले समथर र सार्वजनिक जग्गाको अभाव हुँदा चाहेरपनि सबै वडामा खेलमैदान निर्माण गर्न नसकिएको दुखेसो पोख्नुभयो । खेलमैदानका लागि सम्भावित ४ र ७ नम्बर वडाको जग्गालाई संरक्षण गरेर मैदानको रूपमा स्तरोन्नति गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
दासढुङ्गादेखि मौवाखोलासम्म अत्यन्त पहिरो जाने क्षेत्र भएकाले राज्यलेपनि यसप्रति चासो दिनुपर्ने उहाँको भनाइ छ । सडक तथा पुल निर्माण गर्दा स्थलगत अध्यननगरी बिना आधारमा बनाइएका संरचनाले समेत जोखिम बढाएको गुरुङले गुनासो गर्नुभयो ।
कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिनुहुँदै गुरुङले गोठ सुधार योजना अन्तरगत गाई तथा बाख्रापालन र मौरीपालनका योजनाहरु अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।
साना तथा ठूला होटलको योजना सहित जलबिरेको लामो झरना, सिराइचुली, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी लगायतका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गर्न विभिन्न पूर्वाधारका योजनाहरु अगाडि बढाइएको छ ।
गाउँपालिकामा आँफू निर्वाचित भएर आएदेखि ईच्छाकामनाका सबै घरधुरीमा विद्युत सेवा पुराइएको गुरुङले जानकारी दिनुभएको छ । यसैगरी जनता आवास कार्यक्रम अन्तरगत विपन्न परिवारका घर निर्माण र भूमिहिनका लागि जग्गाको व्यवस्थापनमा गाउँपालिकाले पहल गर्दै आइरहेको छ ।
यो बर्ष किसानहरुका लागि तरकारीको बीउ बितरण, र हालसम्म ५०० वटा सुधारीएको बाख्राको खोर निर्माण, झन्डै २ हजार वटा सुन्तलाका बिरुवा बितरण र रैथाने बालीहरु जस्तै धान, गहुँ, मकै कोदो आदि बालीको प्रबर्द्धन गरिएको गुरुङले बताउनुभयो ।
करिब ३० प्रतिशत भन्दा बढी चेपाङ समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा गुरुङ, मगर, राई, लिम्बू र ब्राहमण क्षेत्री आदि जातीको बसोबास रहेको छ ।