चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम साउन ११ गते माडी आउनुहुने भएको छ। माडी नगरपालिका–स्थित ईनार बरुवामा आयोजना हुने शिवबाबा ज्ञान महायज्ञको उद्घाटन गर्न उहाँ माडी आउन लाग्नुभएको हो।
ईनार बरुवा गाउँबासी परिवारको आयोजनामा साउन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महायज्ञमा सुप्रसिद्ध कथावाचक भागवत भास्कर पण्डित श्री कपिलदेव भट्टको मुखारविन्दबाट श्रीमद्भागवत तथा विभिन्न धार्मिक कथाहरू वाचन गरिने पूजा व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र महतोले जानकारी दिनुभयो।
आयोजकका अनुसार महायज्ञमा झण्डै १० हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, महायज्ञमार्फत २० देखि २५ लाख रुपैयाँसम्म आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञले माडी क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
