निर्माण व्यवसायी संघ चितवनको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेलले उम्मेदवारी अघि सार्नुभएको छ। संघको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशन नजिकिँदै गर्दा झन्डै तीन दशकको निर्माण व्यवसायसम्बन्धी अनुभव बोकेका पोखरेल नेतृत्वको दौडमा उत्रिनुभएको हो।
भरतपुर महानगरपालिका–८ स्थित एमपी निर्माण सेवाका सञ्चालक पोखरेल लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय हुनुहुन्छ। संघको नेतृत्व तहमा रहेर काम गरिसक्नुभएका उहाँ हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।
पोखरेलले निर्माण व्यवसायीको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण र निर्माण क्षेत्रका विद्यमान समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता बनाउनुभएको छ।
उहाँको उम्मेदवारीको मूल नारा ‘सबल संघ, समृद्ध निर्माण क्षेत्र, समृद्ध चितवन’ रहेको छ। निर्माण व्यवसायीले भोग्दै आएका भुक्तानीमा ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि, नीतिगत जटिलता तथा प्रशासनिक समस्याको समाधानका लागि संघलाई प्रभावकारी साझा संस्थाका रूपमा विकास गर्ने उहाँको प्रतिबद्धता छ।
झन्डै तीन दशकको व्यावसायिक अनुभव र संघको नेतृत्व तहमा हासिल गरेको अनुभवलाई आधार बनाएर अध्यक्ष पदमा अघि बढ्नुभएका पोखरेलको उम्मेदवारीसँगै निर्माण व्यवसायी संघ चितवनको आगामी अधिवेशन थप चासोपूर्ण बनेको छ।
