तनहुँ । नेपाल मगर संघका केन्द्रीय उपमहासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ, तनहुँका वरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जामगरले नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
शुभकामना सन्देशमार्फत गर्जामगरले चाडपर्वलाई मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ। उहाँले चाडपर्वको खुसी परिवार तथा आफन्तसँग साटासाट गर्दै आपसी प्रेम, सम्मान र सहयोगको भावना अभिवृद्धि गर्न सबैलाई आग्रह गर्नुभएको छ।
बडादसैँले शक्ति, साहस र सकारात्मक सोचको प्रेरणा दिने, तिहारले उज्यालो र आत्मीयताको सन्देश प्रवाह गर्ने, नेपाल सम्वत्ले मौलिक पहिचान र सांस्कृतिक गौरवलाई स्मरण गराउने तथा छठ पर्वले आस्था, निष्ठा र प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्ने उहाँको सन्देश छ।
सेती गंगा आधारभूत विद्यालय, बन्दीपुरका प्रधानाध्यापकसमेत रहनुभएका गर्जामगरले चाडपर्वका अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
उहाँले यी पर्वले समाजमा सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्दै समुन्नत तथा समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
