मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ ।
धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको उहाँले बताउनुभयो ।
त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ ।
“यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएका छौँ ।
सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले समय मिलाएर सवारी सञ्चालन गर्नुपरेको छ”, प्रमुख विष्टले भन्नुभयो । उहाँका अनुसार सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था छ ।
