नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वचितवन जिल्ला अध्यक्ष दिनेश पौडेलले पार्टीभित्र देखिएको मतभेद र गुट–उपगुट अन्त्य गर्दै एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
कांग्रेस विभाजन वा ध्रुवीकरणको पक्षमा आफू नरहेको स्पष्ट पार्दै नेता पौडेलले पार्टीको हितका लागि सबै पक्षबीच सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।
“पार्टीभित्रको विवाद र मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्नुपर्छ। एकतामै पार्टीको शक्ति र भविष्य सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो।
नेता पौडेलले कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुट–उपगुटको संस्कार अन्त्य गरी विचार, नीति र संगठनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा पार्टीको संगठन, कार्यकर्ता र जनताको भावनालाई प्राथमिकतामा राख्न नेतृत्व तह गम्भीर बन्नुपर्ने बताउनुभयो।
चितवनमा कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय पौडेल युवा पुस्तामाझ परिचित नेताका रूपमा रहनुभएको छ। सामाजिक क्षेत्रमा समेत सक्रिय उहाँ समाजसेवी तथा सफल व्यवसायीका रूपमा पनि परिचित हुनुहुन्छ।
पौडेलले कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै विभाजन र गुटगत राजनीतिभन्दा एकता, सहमति र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिनुभएको छ।
