चितवनको नारायणगढ नारायणी नदी किनारमा मङ्सिर ३ गतेदेखि हुने नारायणी महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सव परिसरमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा मङ्सिर ३ गतेदेखि १६ दिनसम्म महोत्सव चल्ने छ ।
महोत्सवको बिहीबार दिउँसो ११ः०० बजे बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बाढीका कारण नारायणी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेर नारायणी किनार कुनै कार्यक्रम गर्न योग्य थिएन । यस्तो अवस्थामा महोत्सव आयोजना गर्नुअघि परिसरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा आवश्यक मेसिनरी तथा जनशक्ति परिचालन गरी किनारलाई सम्याएर महोत्सव सुरू गर्न लागेको हो ।
रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीका अनुसार यस वर्षको महोत्सवलाई थप नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएका छन् । महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माण गरिनेछ भने नारायणी नदी किनार तथा वरपरको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुन महोत्सवमा राखिने छ । सम्बन्धित निकायको अनुमति तथा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी उक्त गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिनेछन् ।
महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिनेछ । यसबाट स्थानीय व्यवसायी, उद्यमी, स्वरोजगारमा संलग्न व्यक्ति तथा साना व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्राप्त हुने आयोजकको अपेक्षा छ ।
नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग आवश्यक समन्वय र सहकार्य गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, परिसरको सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ ।
आयोजक रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको जनाएको छ ।
महोत्सवमा साधारण टिकट १०० रुपैयाँ र विद्यार्थी टिकट ८० रुपैयाँ रहेको छ । कुनै कुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट ३०० रुपैयाँ र भिआइपी टिकट ५०० रुपैयाँ रहेको छ । कहिलेकाहीँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने १०० रुपैयाँ र ८० रुपैयाँकै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् ।
यसअघि मङ्सिर २ गतेबाट महोत्सव सुरू गर्ने भनिए पनि विभिन्न कामका लागि अतिरिक्त समय आवश्यक परेको हुँदा मङ्सिर ३ गतेबाट महोत्सव सुरू गर्नुपरेको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।
