माडीको एकमात्र पुरानो बगही बसपार्क उचित संरक्षण, व्यवस्थापन र स्तरोन्नतिको अभावमा जीर्ण बन्दै गएको छ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने उक्त बसपार्क लामो समयदेखि व्यवस्थित हुन नसक्दा यात्रु, सवारी चालक तथा स्थानीयले सास्ती खेप्नुपरेको छ।
बसपार्कको अवस्था वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। आवश्यक पूर्वाधार र उचित व्यवस्थापन नहुँदा यात्रु तथा सवारीसाधनको आवागमनमा समेत समस्या हुने गरेको छ। माडीको पुरानो यातायात केन्द्रका रूपमा परिचित बसपार्कको अवस्था दिनप्रतिदिन कमजोर बन्दै जाँदा यसको संरक्षण र स्तरोन्नतिको आवश्यकता बढ्दै गएको छ।
खोला नजिकै रहेको बसपार्क बर्सेनि बाढीको जोखिममा पर्दै आएको छ। खोलामा आउने बाढीका कारण बसपार्कका संरचनामा क्षति पुग्ने गरेको स्थानीयको भनाइ छ। भौगोलिक जोखिमका साथै पर्याप्त बजेट र दीर्घकालीन योजनाको अभावले पनि बसपार्क व्यवस्थित हुन नसकेको देखिन्छ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट समेत बसपार्कको दीर्घकालीन संरक्षण तथा स्तरोन्नतिमा अपेक्षित ध्यान पुग्न सकेको छैन। यसअघि माडी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम दवाडीले बसपार्क स्तरोन्नतिका लागि बर्सेनि बजेट विनियोजन गरिए पनि खोलाको बाढीका कारण निर्माण गरिएका संरचनामा क्षति पुग्ने गरेको बताउनुभएको थियो।
बसपार्कको सामान्य मर्मतसम्भारभन्दा पनि बाढीको जोखिम न्यूनीकरण, सुरक्षित संरचना निर्माण, उचित ढल निकास तथा यातायातमैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। माडीको पुरानो यातायात केन्द्रका रूपमा रहेको बगही बसपार्कको दीर्घकालीन संरक्षण र व्यवस्थित स्तरोन्नतिका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरी ठोस योजना अघि बढाउनुपर्ने आवश्यकता छ।
#PRD0830723
