लामो समयदेखि कागजमै सीमित भरतपुर महानगरपालिकाको आधुनिक ल्याण्डफिल साइट निर्माण प्रक्रिया १६ वर्षपछि अघि बढेको छ। आयोजनाका लागि आँपटारीस्थित जलदेवी सामुदायिक वनको ९.९ हेक्टर क्षेत्रफलमा रुख कटान सुरु भएसँगै निर्माणको आशा पलाएको हो।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले २०६८ पुस २८ गते वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो। तर, जग्गा सट्टाभर्ना, वनसम्बन्धी कानुनी प्रक्रिया तथा प्रशासनिक अड्चनका कारण आयोजना लामो समयदेखि रोकिएको थियो।
महानगरका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले बुधबार रुख कटानको शुभारम्भ गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गरिने जानकारी दिए।
डिभिजन वन कार्यालय चितवनका अनुसार आयोजनास्थलमा रहेका २ हजार ५०६ वटा रुख कटान गरिनेछ। तीमध्ये १ हजार ६१९ वटा सालका रुख छन्। रुख कटानपछि आवश्यक प्रक्रिया पूरा गरी आगामी पुसको दोस्रो सातासम्म काठ लिलामी गर्ने तयारी छ।
जग्गा सट्टाभर्नाका लागि महानगरले माडीको गर्दीमा जग्गा खरिद गरे पनि वन विभागले स्वीकार नगरेपछि वन विकास कोष र वन डिभिजनको खातामा गरी ६ करोड ७१ लाख ३८ हजार रुपैयाँ दाखिला गरेको छ। उक्त रकमबाट पाँच वर्षभित्र नयाँ स्थानमा पाँच गुणा बढी बिरुवा रोपेर हुर्काउनुपर्ने व्यवस्था छ।
लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको भरतपुरमा ल्याण्डफिल साइट निर्माण प्रक्रिया अघि बढेसँगै व्यवस्थित फोहोर व्यवस्थापनको अपेक्षा गरिएको छ।
