व्यापार संघ कपिलवस्तुको पाँचौँ वार्षिक साधारणसभा आज (मंसिर ५ गते) आयोजना हुँदैछ ।
संघको आयोजनामा बिहान ११ बजे खारखानीमा हुने साधारणसभामा जिल्लाका उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरणको लक्ष्यसहित अघि बढिरहेको संघले साधारणसभामार्फत संस्थागत गतिविधि, उपलब्धि तथा आगामी योजनाका विषयमा छलफल गर्ने जनाइएको छ ।
साधारणसभा उद्योग तथा व्यापार क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ । साथै स्थानीय उद्योग, व्यवसायको प्रवर्द्धन, उत्पादन वृद्धि, व्यापार विविधीकरण र समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने विषयले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल (कपिल) ले साधारणसभामा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण उद्योगी, व्यवसायी, सदस्य तथा सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ ।
उद्योग–व्यापारलाई एकताबद्ध गर्दै समृद्ध समाज र सशक्त अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित संघले आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।
