राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्न समेत प्रस्ताव गर्नुभयो । उहाँले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गर्नुभयो ।
उहाँले राप्रपालाई सिमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांसद बन्नकै लागि कहिले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले काँग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताउनु भयो ।
पार्टीलाई विभाजित नभई एकतावद्ध बनाउन समेत पार्टीको नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले आसन्न महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टीका अध्यक्षज्यूलाई म सर्वोच्च नेताका रूपमा आउनका लागि प्रश्ताव गर्दछु । किनकि अब पनि यो पार्टीलाई युवा पुस्ताले हाँक्नुपर्छ । पछिल्लो दिनहरूमा हामीले खोजेर पनि पार्टी पाउन नसक्ने स्थिति सिर्जना भइरहेको छ । हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं ।
