तनहुँमा उत्पादित कृषिउपजलाई प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरणमार्फत व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यक्रमबाट कृषक तथा कृषि उद्यमी लाभान्वित भएका छन् ।
जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार कार्यक्रमका लागि रु १३ लाख बजेट विनियोजन भएकामा रु नौ लाख ८१ हजार खर्च भएको छ ।
कार्यक्रमअन्तर्गत जिल्लाका ११ वटा कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादनपश्चात् उपजको लेबलिङ, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरणका लागि अनुदान सहयोग गरिएको छ ।
कृषिउपजलाई परम्परागत रूपमा बिक्री गर्ने अभ्यासमा सुधार ल्याउँदै उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खला व्यवस्थित गर्ने प्रयास गरिएको अधिकारीले बताउनुभयो ।
किसानले उत्पादन गरेको कृषिउपजलाई आकर्षक तथा सुरक्षित रूपमा प्याकेजिङ गरी आफ्नै पहिचानसहित बजारमा लैजान सहयोग पुगेको उहाँको भनाइ छ ।
कृषि उद्यम तथा कृषकलाई आवश्यकपर्ने विभिन्न कृषि प्रशोधन तथा प्याकेजिङ उपकरणसमेत सहयोग गरिएको छ । जसअनुसार चार वटा डिजिटल तराजु, एउटा रोष्टिङ उपकरण, नौ वटा सिलर उपकरण, तीन वटा डिस्क मिल, एउटा तोरी पोल्ने मिल, दुई वटा स्लाइसर उपकरण र चार वटा कम्बाइन मिल प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, एउटा बोक्रा तास्ने उपकरण, एउटा कनिका झार्ने उपकरण, एउटा ब्याज लेबलिङ उपकरण र एउटा सुकाउने उपकरणसमेत सहयोग गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यी उपकरणको प्रयोगबाट स्थानीयस्तरमा उत्पादित कृषिउपजको प्रशोधन, ग्रेडिङ, प्याकेजिङ तथा लेबलिङ गर्न सहज भएको छ ।
