गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएपछि तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा विद्यालय प्रभावित भएका छन्।
बाढीले केही संरचना बगाएको खबर प्राप्त भए पनि मानवीय क्षतिबारे भने अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन।
प्रारम्भिक जानकारीअनुसार नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि पानी एकाएक बढेको हुन सक्ने अनुमान गरिएको छ। नदीको बहाव पटकपटक थुनिने र खुल्ने क्रम जारी रहेकाले जोखिम अझै कायम रहेको जनाइएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार बाढीको ठूलो झड्काले नदी आसपासको क्षेत्र प्रभावित पारेको छ। नदीको बहाव बढ्दा तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको खबर आएको उनले बताएका छन्।
बाढीबाट जगत, सल्लेरीलगायत नदी किनारका बस्ती तथा बजार प्रभावित भएको प्रारम्भिक सूचना छ। ती क्षेत्रमा सञ्चालित होटल, ट्रेकिङ एजेन्सीसँग सम्बन्धित होटल तथा केही विद्यालयसमेत बाढीले बगाएको खबर प्राप्त भएको सापकोटाले जानकारी दिएका छन्।
नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले क्षतिको वास्तविक अवस्था तत्काल यकिन गर्न कठिन भइरहेको छ।
गाउँपालिका तथा सम्बन्धित निकायले घटनास्थलको अवस्था बुझ्ने, क्षतिको विवरण संकलन गर्ने र आवश्यक समन्वय गर्ने काम गरिरहेका छन्।
बूढीगण्डकी नदीमा बाढीको जोखिम कायमै रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदीको बहाव हेर्न वा बाढीको अवस्था बुझ्न नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ सर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आवश्यक छ।
बाढीबाट मानवीय क्षति भए–नभएको र भौतिक संरचनामा पुगेको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ
