पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहनुभयो ।
उहाँले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँगाउँमा पुगेर जनताको समस्या र गुनासा सुन्नुभयो । माडीमा धान काटिरहेका किसानका खेतमा एकाएक उहाँ पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए । धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि उनीहरूले आफ्ना समस्या र गुनासो खेतमा नै मन्त्रीसँग बिसाउन पाए ।
मन्त्री गौतमले माडी र भरतपुरका गाउँ–गाउँमा पुगेर दसैँको मौकामा शुभकामना आदान प्रदानसँगै स्थानीयका समस्या सुन्नुभयो । यस क्रममा भरतपुर र माडीका विभिन्न ठाउँमा पुगेर उहाँले नदी कटानका समस्या, हुलाकी सडक, कृषि उत्पादन, मल बिऊको उपलब्धता र बजार मूल्य जस्ता विषयमा चासो पूर्वक जानकारी समेत लिनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले माडीका किसानका खेतबारीमा पुगेर भेट्नुभयो । त्यहाँका अग्रजसँग आर्शिवाद समेत लिनुभयो । खनालले भन्नुभयो, “मन्त्रीलाई समस्या लिएर काठमाडौँ भेट्न जान चाहेकाहरूलाई गाउँ घरमै भेटेर समस्या तथा गुनासा सुन्नुभयो ।”
मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । उहाँले भरतपुर महानगरपालिका वडा नं. ३, १६, १७, २६, २७ र २८ का बासीन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी अपुरो रहेका तटबन्धनका काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । स्थानीयले उठाएका जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र बस्ती सुरक्षासम्बन्धी माग सुन्नुभयो ।
खनालका अनुसार नदी तटीय क्षेत्रको नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका स्थानीयको नदीको जोखिमसँगै अन्य समस्याहरू पनि सुन्नुभएको थियो ।
भरतपुर १६ का नन्दप्रसाद भट्टका अनुसार भेटका क्रममा मन्त्री गौतमले नदी तटीय क्षेत्रलाई बचाउने कुरामा आफू गम्भीर रहेको र छिटै तटबन्धनका बाँकी काम सम्पन्न गर्ने बताउनुभएको थियो । सो क्रममा स्थानीयको कतिपय समस्या उहाँले तत्काल समाधानका लागि पहल अघि बढाउनुभएको थियो ।
उहाँले भरतपुर महानगरपालिका वडा न. ९, १३ लगायतका क्षेत्रहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट समेत गर्नुभएको थियो । दसैँको टीका अघि गृह जिल्ला आउनुभएकी गौतमले परिवारसँगभन्दा मतदातासँग धेरै समय बिताउनुभयो । मतदाताका घर-घरमा पुग्नुभएकी उहाँलाई कतिपयले भरतपुर १५ स्थित निवासमा पुगेर पनि राति अबेरसम्म भेट गरेका थिए । क्रिकेट क्लब कर्णाली याक्सका अध्यक्षसमेत रहनुभएका गौतमका श्रीमान् गृहेन्द्र घिमिरेका अनुसार मन्त्री गौतमको अधिकांश समय आम जनता र कार्यकर्तासँग बितेको थियो । राति अबेरसम्म समस्या लिएर स्थानीय नेता कार्यकर्ता घरमा आइपुगेको उहाँले बताउनुभयो । दिनभरको समय मन्त्री गौतम जनताको घरदैलोमा पुग्ने गरेको घिमिरेको भनाइ छ ।
जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश आचार्यले मन्त्री भेटेर आफ्ना समस्या राख्न चाहेकाहरूलाई निवासमा पनि भेट गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलाई दसैँमा अरुमा ध्यान थिएन । मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो ।” सोहीअनुसार भेट गरेर उहाँ फर्कनुभएको आचार्यले जानकारी दिनुभयो । मन्त्री गौतमका हजुरआमा बितेका कारण आफूले टीका नलगाए पनि शुभकामना आदानप्रदानसहित जनताको माझमा अधिकांश बिदाको समय उहाँले बिताएको आचार्यले बताउनुभयो ।
दसैँको बिदामा मन्त्री गौतमले जिल्ला आउनुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेट गराउनुभएको थियो । गौतम चितवन क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ निर्वाचित भएसँगै माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे सडकको प्रक्रिया अघि बढेको छ । नारायणीमा बाँकी तटबन्धनका काम अघि बढेका छन् । यस्तै माडी लगायतका क्षेत्रमा पुल, सडकलगायतका विकास निर्माणका काम अघि बढेका छन् ।
