बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
