हरेक वर्ष अगस्ट ९ तारिख मनाइने विश्व आदिवासी जनजाति दिवस यस वर्ष ‘पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावका साथ मनाइँदैछ।
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, ज्ञान र पहिचानको संरक्षणसँगै राज्यका हरेक अंगमा समान पहुँच, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्नु यस दिवसको प्रमुख सन्देश हो।
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको अधिकार, पहिचान र सामाजिक न्यायका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छ। महासंघसँग विभिन्न जातीय संस्था, जिल्ला तथा स्थानीय तहका संरचना र विभिन्न भातृ संगठनहरू आबद्ध छन्।
विश्व आदिवासी जनजाति दिवस केवल उत्सव मनाउने दिन मात्र होइन, आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा राज्यबाट समान अधिकार र अवसर प्राप्तिका लागि प्रतिबद्धता दोहोर्याउने अवसर पनि हो।
संविधानले आदिवासी जनजातिका अधिकारलाई स्वीकार गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ। मातृभाषाको संरक्षण, सरकारी कामकाजमा भाषाको प्रयोग, समान प्रतिनिधित्व तथा आदिवासी ज्ञान र परम्पराको सम्मानलाई व्यवहारमा उतार्न राज्य अझ जिम्मेवार बन्न आवश्यक छ।
त्यसैले ३२औँ विश्व आदिवासी जनजाति दिवसले विविधतामा एकता, समानता, सामाजिक न्याय र सम्मानसहितको समावेशी समाज निर्माणका लागि नयाँ चेतना र ऊर्जा प्रदान गरोस्। विश्वभरका आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना।
