बढ्दो शहरीकरणसँगै होटल तथा रेस्टुरेन्टको विस्तार भइरहेको अवस्थामा भरतपुर–१० दीपेन्द्र चोकमा ‘चित्वन स्पाइसी हर्ब’ होटल सञ्चालनमा आएको छ।
होटल सञ्चालक प्रकाश आचार्यका अनुसार करिब ५ कठ्ठा जग्गामा जग्गाबाहेक करिब ५ करोड रुपैयाँ लगानी गरेर होटल सञ्चालनमा ल्याइएको हो ।
होटलमा १२ वटा डिलक्स कोठा, ६० जनाको क्षमताको एउटा हल तथा ३०/३० जनाको क्षमताका दुई हल रहेका छन्। त्यस्तै १०० जना क्षमताको रेस्टुरेन्ट, करिब २०० जना अट्ने रूफटप र १०० जनाभन्दा बढी क्षमताको बाहिरी ओपन रेस्टुरेन्टसमेत रहेको जनाइएको छ।
होटल परिसरमा २५ वटा कार र करिब १०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। जापानमा करिब दुई दशक रेस्टुरेन्ट व्यवसायको अनुभव हासिल गरेको बताउँदै जापानी, इजिप्सियन, चाइनिजलगायत दक्षिण एसियाली परिकारलाई नेपाली ग्राहकका लागि नयाँ स्वादमा प्रस्तुत गर्ने उद्देश्यका साथ होटल खोलिएको उनले बताए ।
उनका अनुसार जापानको टोकियो क्षेत्रमा सातवटा रेस्टुरेन्ट सञ्चालनको अनुभवसमेत रहेको छ। सो अनुभवलाई नेपालमा प्रयोग गर्दै पारिवारिक वातावरणमा गुणस्तरीय खाना, फरक स्वाद र सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। होटलमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म खाना तथा खाजाको सुविधा उपलब्ध हुने तथा होम डेलिभरी, बैठक, गोष्ठी, सेमिनार, सभा, अधिवेशन, जन्मदिन, एनिभर्सरी र पारिवारिक जमघटका लागि समेत सेवा उपलब्ध गराइने जनाइएको छ।
