अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोल्यान्ड च्याप्टरको अध्यक्षमा पारदर्शी अनलाइनका पाेल्याण्ड ब्युराे इन्चार्ज शिव कुमार अधिकारी चयन हुनुभएकाे छ ।
पोल्यान्डको वार्सास्थित हिमालयन यति रेस्टुरेन्टमा आयोजित नयाँ कार्यसमिति पदस्थापना तथा शपथग्रहण कार्यक्रममा पारदर्शी अनलाइनका पाेल्याण्ड ब्युराे इन्चार्ज शिव कुमार अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश थापा मगर, महासचिवमा सुजता सुवेदी र कोषाध्यक्षमा सन्देश मुक्तान चयन हुनुभएको छ। सदस्यहरूमा भुवन राना मगर र सबिन घिमिरे रहनुभएको छ । त्यस्तै, सल्लाहकारमा डा. बोधराज सुवेदी, डा. एलिनी पोखरेल सुवेदी र मित्रलाल पार्दे रहनुभएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष सुसन परियार विसर्जन र भीम परियारको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएनए पोल्यान्डका अध्यक्ष रिता तिवारी न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । विशिष्ट अतिथिका रूपमा पोल्यान्ड नेपाल फाउन्डेसनका अध्यक्ष तथा निवर्तमान अवैतनिक राष्ट्रिय वाणिज्यदूत सहभागी हुनुभएको थियो ।
कार्यक्रममा अनेसास पोल्यान्ड च्याप्टरका संस्थापक सल्लाहकार डा. एलिनी पोखरेल सुवेदी, इनास पोल्यान्डका अध्यक्ष तुलसा पोखरेल, नेपाली जनसम्पर्क समिति पोल्यान्डका सभापति भीम परियार, नेपाली साहित्य समाज पोल्यान्डका संरक्षक तथा एफआरएनए संस्थापक एवं पानी अभियन्ता मित्रलाल पार्देलगायतको उपस्थिति थियो ।
कार्यक्रममा पोल्यान्डमा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाल–पोल्यान्ड सम्बन्धमा सक्रिय व्यक्तित्व, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिले पोल्यान्डमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
