चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडी (पिटीभी)को नयाँ भाडादर निर्धारण गरेको छ।
गत भदौ ९ गते बसेको समितिको बैठकको निर्णयानुसार जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरूको सडकको अवस्था, भौगोलिक भूभाग र एम्बुलेन्सको वर्गीकरण ‘क’ वर्ग, ‘ख’ वर्ग र पिटिभी अनुसार दुईतर्फी भाडादर तय गरिएको हो।
नयाँ तोकिएको भाडादर अनुसार ‘क’ वर्गको एम्बुलेन्सका लागि तराई भूभागमा पिच सडकमा प्रतिकिलोमिटर ७०, ग्राभेलमा प्रतिकिलोमिटर ७५ र कच्ची सडकमा प्रतिकिलोमिटर ८५ कायम रुपैयाँ गरिएको छ भने पहाडी भूभागमा पिचमा प्रतिकिलोमिटर ९५, ग्राभेलमा प्रतिकिलोमिटर १०० र कच्चीमा प्रतिकिलोमिटर ११० रुपैयाँ तोकिएको छ।
यस्तै ‘ख’ वर्गको एम्बुलेन्सका लागि तराईमा क्रमशः प्रतिकिलोमिटर ६१, ६५ र ७५ रुपैयाँ तथा पहाडी भेगमा क्रमशः प्रतिकिलोमिटर ७५, ८० र ९० रुपैयाँ निर्धारण गरिएको छ। बिरामी ओसारपसार गर्ने गाडी पिटिभीको हकमा भने तराईमा पिच, ग्राभेल र कच्ची सडकका लागि क्रमशः प्रतिकिलोमिटर ५७, ६२ र ७० तथा पहाडी क्षेत्रमा क्रमशः प्रतिकिलोमिटर ६५, ७० र ७५ रुपैयाँ लतोकिएको छ।
जिल्लाभित्र १ देखि ५ किलोमिटरसम्मको छोटो दूरीका लागि समितिले एकमुष्ट भाडादर तोकेको छ, जसअनुसार ‘क’ वर्गका लागि ४५०, ‘ख’ वर्गका लागि ४०० र पिटिभीका लागि ३५० रुपैयाँ कायम गरिएको छ। यसैगरी, भरतपुरदेखि काठमाडौँसम्म बिरामी लैजानका लागि अधिकतम दुईतर्फी भाडादर ‘क’ वर्ग एम्बुलेन्सको १४ हजार ३००, ‘ख’ वर्गको ११ हजार ५०० र पिटिभीको १० हजार रुपैयाँ तोकिएको छ।
समितिले भौगोलिक वर्गीकरण स्पष्ट पार्दै भरतपुर महानगरपालिका वडा नं. २९ (हाइवे बाहेक), कालिका नगरपालिकाका वडा नं. ८, ९, १० र ११, राप्ती नगरपालिकाका वडा नं. ११, १२ र १३ तथा इच्छाकामना गाउँपालिकाका सबै वडाहरूलाई पहाडी भूभाग मानिएको छ भने यी क्षेत्रबाहेकका अन्य सबै स्थानलाई तराई भूभाग अन्तर्गत राखिएको जनाएको छ।
