नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, उनकै शब्दमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर प्रवृत्ति र चकचकका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन्।
जय नेपाल फाउन्डेसन सोलुखुम्बु शाखाले ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको ‘वीपी कोइराला र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले धोकाधढीको राजनीति यस पटकबाट अन्त्य भएको प्रमाणित गर्नुपर्ने चुनौती नेताहरुमा रहेको बताए ।
फाउन्डेसनका अध्यक्ष नवीन थापाको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा महामन्त्री थापाले भने, ‘अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको ७ बुंदे सहमति कार्यान्वयन हुनेमा संशय रहेको छ। उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ। तर यो उहाँहरुले प्रमाणित गर्नुपर्छ। कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो।’
आफ्नो संदेशमा जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले संसारभरि रहेका नेपालीहरुलाई एकताबद्धगरी मातृभूमिको सेवामा समर्पित रहने उद्देश्यले जय नेपाल फाउण्डेसनको स्थापना गरिएको बताए ।
उनले फाउन्डेसनले समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा वेबिनारहरु आयोजना गर्नुका साथै तृणमूल तहसम्म लोकतन्त्र सुदृढ गर्न काम गर्ने बताए।