भरतपुर महानगरपालिकाले अव्यवस्थित पार्किङलाई हटाएको छ । जिल्ला प्रहरी कार्यालय भरतपुरको समन्वयमा भरतपुर अस्पताल अगाडिको अव्यवस्थित पार्किङ हटाइएको हो ।
वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख विसुराम कुँवरको नेतृत्वमा भएको उक्त कार्यक्रममा विभिन्न नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख विसुराम कुँवरले अव्यवस्थित पार्किङका कारण दुर्घटना बढ्ने गरेको बताउनुभयो । यसैगरी जथाभावी बढ्दै गएको फोहोरमैलाले वातावरणमा दुर्गन्ध फैलिएको उल्लेख गर्दै यसको न्यूनीकरणमा महानगरले जोड दिएको उल्लेख गर्नुभयो ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले अधिकांश सवारी दुर्घटना सडककै कारण भएको बताउनुभयो । सडकमा हुने अव्यवस्थित पार्किङ आदि नै सडक दुर्घटनाका प्रमुख स्रोत भएको उल्लेख गर्दै सुवेदीले तत्काल यसको लागि बैकल्पिक पार्किङको व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।
चालकको लापरबाहीका कारणपनि सडक दुर्घटना बढ्दै गइरहेको छ । अस्पताल र सार्वजनिक कार्यालय अगाडि हुने अत्यधिक भिडभाड आदिका कारणपनि दुर्घटना बढ्दै गएको पाइन्छ ।
यसैगरी भरतपुर महानगरपालिका वडा नं. १० का वडा सदस्य रेशमराज थापाले फोहोरमैला व्यवस्थापन र पार्किङ व्यवस्थापन थप चुनौतीपूर्ण भएको भन्दै तत्काल पार्किङ व्यवस्थापनका लागि बैकल्पिक जग्गा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
हामीकहाँ अझैपनि चेतनाको स्तर वृद्धि नभएको भन्दै थापाले जथाभावी रूपमा फालिएको फोहोरमैला तत्काल व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । सार्वजनिक ठाउँहरुमा प्लास्टिक र गुट्खाजन्य सामाग्रीहरु यत्रतत्र फालिएको भन्दै यसको नियन्त्रणमा भरतपुर १० ले समेत पहल थालेको बताउनुभयो ।
पार्किङ व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका लागि समेत वडाले ठूलो पहल गर्दै आएको थापाले जिकिर समेत गर्नुभयो ।