चितवन मेडिकल कलेज (सिएमसी)मा कार्यरत मुटु, छाती तथा रक्तनली विशेषज्ञ डा. अनिल आचार्यले छाती दुख्नुको विविध कारण रहेको बताउनुभएको छ ।
भारी काम हुँदा या रक्तनली र मांशपेशीमा कुनै समस्या भएमापनि छाती दुख्ने डा. आचार्यको भनाइ छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै डा. आचार्यले छातीको अत्यधिक दुखाइ भएमा बान्ता हुने सम्भावना बढी हुने बताउनुभएको हो ।
डाइबीटिज, सुगर प्रेसर आदि समस्या भएमापनि रक्तनलीमा बारम्बार समस्या देखा परिरहने उहाँले जानकारी दिनुभयो । अत्यधिक छातीको दुखाइ भएर आएका केही बिरामीहरुको खकार परिक्षणमा क्षयरोगको समस्या समेत देखिने गरेको हो ।
नेपालमा उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गइरहेको छ । चितवनमा प्रायःजसो बालबालिकाहरुमा जन्मजातै मुटु रोगको समस्या देखिने गरेको समेत डा. अनिल आचार्यले बताउनुभयो ।
डा. आचार्यका अनुसार, “नेपालमा २८ देखि ३० प्रतिशत मानिसले धूम्रपान गर्ने गरेको र त्योभन्दा बढी सुर्ती खानेको संख्या रहेको छ ।” नेपालमा ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको डा. आचार्यले जानकारी दिनुभयो ।
पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले समेत नेपालमा मुटु रोगीको संख्या बढी रहेकोे बताएको छ ।
खानपिन र स्वस्थकर जीवनशैली अपनाउन सकिएको खण्डमा भबिस्यमा हुन सक्ने सम्भावित मुटु रोगबाट बच्न सकिने चितवन मेडिकल कलेज (सिएमसी)मा कार्यरत मुटु, छाती तथा रक्तनली रोग विशेषज्ञ डा. अनिल आचार्यले जानकारी दिनुभयो ।