जलवायु परिवर्तन नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य तथा समग्र विकाससँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको भन्दै यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन र हरित उद्यमलाई प्रवर्द्धन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नेपाली कांग्रेसले ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा नीति विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती, त्यसका प्रभाव र सम्भावित समाधानबारे धारणा राखेका हुन्।
जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन कुनै एउटा क्षेत्र वा एउटा विषयसँग मात्र सम्बन्धित मुद्दा नरहेको बताए। अहिले यसको असर नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा प्रत्यक्ष देखिन थालेको उनले बताए । रेमिटेन्सजस्तो क्षेत्रमासमेत जलवायु परिवर्तनको अप्रत्यक्ष प्रभावबारे पर्याप्त अध्ययन हुन नसकेको उनको भनाइ थियो।
उनले भने, ‘जलवायु परिवर्तनलाई हाम्रो नीति तथा कार्यक्रम र बजेटमा एउटा बुँदामा मात्र सीमित राखेर पुग्दैन। यसले अर्थतन्त्रका सबै क्षेत्रमा पार्ने प्रभाव, आउँदो पुस्ताले भोग्नुपर्ने चुनौती र त्यसबाट सिर्जना हुन सक्ने अवसरलाई पनि समेटेर नीति बनाउन आवश्यक छ। अहिले हामी जलवायु परिवर्तनलाई वातावरणको विषय मात्र भनेर हेर्छौं, तर यसले कृषि, ऊर्जा, पर्यटनदेखि रोजगारी र समग्र विकासमा असर गरिरहेको छ।’
ढकालले फोहोरमैला व्यवस्थापन पनि जलवायु परिवर्तनको एउटा महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै विकसित राष्ट्रलाई मात्र दोष दिनुभन्दा नेपालले आफ्नै फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने धारणा राखे।
