शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभएको हो ।
विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पार्नुभयो ।
विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो ।
मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
उहाँले आफ्नै दल वा अन्य कुनैपनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
