भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए ।
उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालभित्र र बाहिर उच्च तहबाट समन्वयलाई थप प्रभावकारी बनाइएको छ ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिँदै प्रवक्ता पौडेलले प्रधानमन्त्रीले शुक्रबार बिहान न्युजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेको बताए ।
भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धार टोली नेपाली सेनासँगको समन्वयमा उद्धार कार्यमा खटिएका छन् । त्यस्तै, संयुक्त अरब इमिरेट्सको खोज तथा उद्धार टोली, मलेसियाको ‘स्मार्ट’ टोली र अस्ट्रेलियाको ‘डार्ट’ टोलीले पनि जारी उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।
