नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ ।
हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ । अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ । मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ ।
भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र कावासोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन् ।
यसैगरी, चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिनटार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनिघाट, नवलपरासी (बर्दघाट सुस्ता पूर्वको) हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन् ।
यसैगरी, महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिम्रनगढ र तनहुँको आँबुखैरहनी र भानुमा उपचार केन्द्र रहेका छन् ।
आगामी असोज महिनामा सर्लाहीको हरिपुर्वा र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति सङ्घका सभापति जयराम श्रेष्ठले बताउनुभयो ।
अस्पतालले गत आर्थिक वर्षमा अस्पताल र केन्द्रमार्फत दुई लाख ९२ हजार ६७१ जनालाई बहिरङ्ग सेवा दिएको छ । शिविरका तर्फबाट ४२ हजार २७० जनालाई सेवा दिएको छ ।
कुल लाभान्वित सङ्ख्या तीन लाख ३४ हजार ९४१ रहेको उहाँले जानकारी दिनुभयो । चितवनसहित छिमेकी जिल्लाका २६ लाख समुदायलाई सेवा दिन सक्ने क्षमता अस्पतालको छ ।
गत आर्थिक वर्षमा ११ हजार ६९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दाताहरुको सहयोगमा सेवा विस्तार गर्न सकिएको श्रेष्ठ बताउनुहुन्छ । स्थानीय तहले अस्पताल र सेवा केन्द्र सञ्चालनमा भवनसहित आर्थिक लगायतका सहयोग गर्दै आएका छन् । यसका अतिरिक्त नेपाल सरकारको सङ्घ र प्रदेशले पनि सहयोग गर्दै आएका छन् ।
