वार्सा । पोल्याण्डमा रहेका नेपाली नागरिकलाई राहदानी नवीकरण तथा सम्बन्धित सेवा सहज, नियमित र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा विभिन्न नेपाली संघसंस्था तथा प्रतिनिधिहरूबीच छलफल भएको छ। विदेशमा रहेका नेपाली नागरिकले राहदानी नवीकरणका लागि लामो दूरी तय गर्नुपर्ने तथा समय र खर्चसमेत बढ्ने अवस्थालाई ध्यानमा राख्दै घुम्ती राहदानी सेवाको पहुँचलाई थप विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
छलफलका क्रममा पूर्व अवैतानिक वाणिज्यदूत डा. बोधराज सुवेदीले विदेशमा रहेका नेपाली नागरिकलाई सहज र सरल रूपमा राहदानी सेवा उपलब्ध गराउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। राहदानीजस्तो आधारभूत कागजातका लागि नागरिकले अनावश्यक कठिनाइ र झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्दै सेवा नागरिकको सहज पहुँचमा पुग्ने गरी व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो।
डा. सुवेदीले पोल्याण्डमा रहेका नेपाली नागरिकको राहदानी नवीकरण प्रक्रियालाई अझ सरल, व्यवस्थित र प्रभावकारी बनाउन आफूले आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित निकाय, नेपाली समुदाय तथा विभिन्न संघसंस्थाबीच आवश्यक समन्वय र सहकार्य भएमा सेवा प्रवाहलाई थप सहज बनाउन सकिने धारणा राख्नुभयो।
त्यसैगरी, एनआरएनए पोल्याण्डकी अध्यक्ष रीता तिवारी न्यौपानेले सहज र सरल रूपमा राहदानी प्राप्त गर्नु प्रत्येक नेपाली नागरिकको अधिकार भएको बताउनुभयो। विदेशमा रहेका नेपालीले राहदानी नवीकरणकै लागि लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सेवा नागरिकमैत्री र व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष न्यौपानेले पोल्याण्डमा राहदानी सेवा नियमित र प्रभावकारी बनाउन एनआरएनए पोल्याण्डले आवश्यक समन्वय, सहकार्य तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता सेवाका लागि सम्बन्धित निकाय तथा संघसंस्थाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
छलफलमा सहभागी विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले हाल सञ्चालन हुँदै आएको घुम्ती राहदानी शिविरलाई राजधानी वार्सामा मात्र सीमित नगरी पोल्याण्डका अन्य प्रमुख शहरहरूमा समेत विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। विशेषगरी वार्साभन्दा टाढा रहेका नेपाली नागरिकलाई सेवा लिन सहज हुने गरी भौगोलिक आवश्यकता र नेपाली समुदायको उपस्थितिलाई आधार बनाएर विभिन्न शहरमा नियमित रूपमा घुम्ती शिविर सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सहभागीहरूले घुम्ती राहदानी सेवा सञ्चालन गर्दा सेवा शुल्क, आर्थिक कारोबार तथा अन्य व्यवस्थापकीय पक्षलाई पनि स्पष्ट र पारदर्शी बनाउनुपर्ने धारणा राखेका छन्। राहदानी नवीकरणका लागि लाग्ने निर्धारित शुल्क सेवाग्राहीबाटै लिने व्यवस्था भए पनि त्यसको प्रक्रिया स्पष्ट, पारदर्शी र व्यवस्थित हुनुपर्ने उनीहरूको सुझाव थियो।
त्यस्तै, आवेदनदेखि राहदानी वितरणसम्मको सम्पूर्ण प्रक्रिया सेवाग्राहीले सहज रूपमा बुझ्न सक्ने गरी आवश्यक सूचना तथा प्रक्रियाबारे स्पष्ट जानकारी उपलब्ध गराउनुपर्नेमा समेत जोड दिइएको छ। सेवा लिन आउने नागरिकलाई अनावश्यक अन्योल र झन्झट नहोस् भन्नका लागि पूर्वसूचना, आवश्यक कागजात, शुल्क तथा सेवा उपलब्ध हुने स्थान र समयबारे स्पष्ट जानकारी दिनुपर्ने सहभागीहरूको भनाइ थियो।
छलफलमा पोल्याण्डमा रहेका नेपाली नागरिकको बढ्दो आवश्यकता र समुदायको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै घुम्ती राहदानी सेवाको दायरा विस्तार गर्न सकेमा धेरै नेपाली प्रत्यक्ष रूपमा लाभान्वित हुने निष्कर्ष निकालिएको थियो। साथै आगामी दिनमा सम्बन्धित निकाय र नेपाली संघसंस्थाबीच थप समन्वय गर्दै सेवा प्रवाहलाई नियमित, पारदर्शी र नागरिकमैत्री बनाउन पहल गर्ने विषयमा समेत छलफल भएको थियो।
