सरकारले आर्थिक वर्ष २०८१÷८२ को अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात वटा पालिकालाई पाँच अर्ब ३३ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ । पालिकाहरुले समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान पाएका छन् ।
अनुदान अन्तरगत भरतपुर महानगरपालिकाले कुल एक अर्ब ८९ करोड ४७ लाख रूपैयाँ अनुदान पाएको छ । कालिका नगरपालिकाले कुल ४५ करोड १५ लाख रूपैयाँ अनुदान पाएको छ । त्यस्तै, रत्ननगर नगरपालिकाले कुल ६१ करोड ३५ लाख रुपैयाँ अनुदान पाएको छ ।
माडी नगरपालिकालाई कुल ४८ करोड ९९ लाख रुपैँया अनुदान छुट्याएको छ । माडी नगरपालिकाको लागि चालूतर्फ ४२ करोड ५६ लाख र पुँजीगततर्फ छ करोड ४३ लाख गरी कुल ४८ करोड ९९ लाख रूपैयाँ अनुदान छुट्याइएको हो । जसमध्ये समानीकरणतर्फ १२ करोड १३ लाख, सशर्ततर्फ ३३ करोड ४१ लाख, विशेषतर्फ दुई करोड ३५ लाख र समपूरकतर्फ एक करोड १० लाख रूपैयाँ रहेको छ ।
त्यस्तैगरि, खैरहनी नगरपालिकाको लागि ४८ करोड ४९ लाख रूपैयाँ अनुदान छुट्याइएको छ । राप्ती नगरपालिकाको कुल ५९ करोड ४६ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको छ भने इच्छाकामना गाउँपालिकाका लागि कुल ४७ करोड ४२ लाख रूपैयाँ अनुदान विनियोजन गरिएको छ ।