भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले आगामी बर्ष भित्र वडाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै काफ्लेले खेलमैदान र पार्क निर्माणमा समेत वडाले जोड दिएको बताउनुभएको हो ।
बिगतको इतिहासलाई स्मरण गर्दै उहाँले पहिलेको तुलनामा अहिले धेरै बिकास भएको बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जोडदिदै वडाले प्रेमबस्ती माविलाई उत्कृष्ट नमूना बिद्यालयको रूपमा बिकास गरेको जिकिर गर्नुभयो । नागरिकका समस्यालाई मध्येनजर गर्दै बिदाको समयमा समेत वडाले जनताको सेवालाई प्राथमिकता दिएको बताउनुभयो ।
जनघनत्व र क्षेत्रफलका हिसाबले समेत सबैभन्दा फराकिलो क्षेत्र भएकालेपनि केही पूर्वाधारका काम अधुरै रहेको बताउनुभयो ।
जेष्ठ नागरिक र चिल्ड्रेन पार्क निर्माणका लागि वडाले पहल गरिरहेको बताउदै वडाध्यक्ष काफ्लेले अहिले भइरहेका साना तथा ठूला खेलहरु कृष्णपुर स्पोर्ट्स स्टेडियम मैदानमा हुँदै आएको बताउनुभयो । उक्त मैदानको अझैधेरै बिकास र स्तरोन्नतिको लागि समेत केन्द्र र प्रदेश सरकारसंग बजेटको माग गरिएको जानकारी दिनुभयो ।
कृषि र पशुपालन अर्थोपार्जनको प्रमुख स्रोत भएको भन्दै उहाँले कृषि कर्ममा लाग्न चाहने युवाहरुलाई पोप्साहन गर्दै सीपमुलक तालिम प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।
जनता आवास कार्यक्रम अन्तर्गत विपन्नका घर निर्माण र निशुल्क स्वास्थ्य विमा र घर विमामा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले गाई तथा बाख्रापालन, मौरीपालन, तरकारीबाली जस्ता अन्य कृषि बालीलाई समेत पहिलो प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रमहरु अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।