खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ ।
दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको भन्दै उहाँले दुर्घटनास्थल बरु खोँचजस्तो ठाउँ रहेको बताउनुभयो ।
‘कतिपयले जहाज पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन । कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएकोजस्तो हुनसक्छ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार जहाज गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सवार सबै ५ जनाको शव फेला परेको हो ।
एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।