चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत पेट, आन्द्रा तथा ग्याष्ट्रोलोजिष्ट डा. मुकेश रञ्जनले पेट आन्द्रा तथा आमाशयमा हुने सानो घाउबाट नै अल्सर बन्न सक्ने बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै डा. रञ्जनले निकै लामो समय खाली पेट बस्दा ग्याष्टिक हुने सम्भावना बढी हुने बताउनुभएको हो ।
चितवनमा समेत दिनानुदिन मानिसहरु सामान्य अबस्थामा भन्दापनि जटिल अबस्थामा मात्रै उपचारका लागि अस्पतालमा आउने गरेको उहाँले बताउनुभयो । बढीमात्रामा अत्यधिक दुखाइ कम गर्ने औषधीको प्रयोग गर्दा समेत अधिकाँशमा ग्याष्टिकको समस्या बढेको उहाँले बताउनुभयो ।
छाती पोल्ने, अमिलो डकारसहितको पानी आउने, मुटुको चाप बढ्ने जस्ता सामान्य लक्षणहरु देखिने गरेको डा. रञ्जनको भनाइ छ ।अधिकांश मानिसहरुले ग्याष्टिकको उपचार समयमै नगराउदा अल्सर भएकाहरुको संख्या ह्वात्तै बढेको समेत जानकारी दिनुभयो ।
जसका कारण कयौं मानिसहरुमा अल्सर बिग्रेर आन्द्रामा घाउ वा प्वाल परि रगतको बान्ता र कालोदिसा जाने जस्ता समस्या देखा पर्ने गरेको डा. रञ्जनले जानकारी दिनुभयो ।
शरीर भारी अथवा गह्रौ महसुस भएमा, अत्यधिक पेट तथा छाती पोल्ने, अमिलो पानी आउने र अकस्मात रगतको बान्ता या कालोदिसा भएमा तत्काल चिकित्सकको परामर्श लिएर उपचार गराउनुपर्ने हुन्छ । भने कसैकसैमा शरीरमा रगतको कमि हुने, रिङ्गता लाग्ने, खाना मन नलाग्ने जस्ता समस्या देखा पर्ने हुन्छ ।
अत्यधिक जाँड रक्सी र मदिरा सेवन गर्नेहरूमा समेत अल्सरको जोखिम रहेको डा. रञ्जनले बताउनुभयो । समयमै उपचार गराएको खण्डमा र खानपिनमा ध्यानदिएमा समेत अल्सर निको हुने उहाँले जानकारी दिनुभयो ।
घरेलु खाना भन्दापनि बजारमा पाउने अखाद्य खानेकुराहरुका कारण र समयमा नै स्वस्थकर खाना नखाँदा यस्तो समस्या देखापर्ने हुँदा स्वस्थकर खानपिन र जीवनशैलीमा ध्यानदिन समेत डा. मुकेश रञ्जनले सबैमा सुझाव दिनुभयो ।