शङ्खदेबी सामुदायिक वन अमरापुरीका निवर्तमान सचिब एवं सामाजिक व्यक्तित्व मेघनाथ सापकोटाले गैंडाकोट नगरपालिकामा सडक संजाल र खानेपानीको समस्या रहेको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै पूर्वसचिव सापकोटाले मानव र वन्यजन्तुबीचको द्वोन्द अझै कायमै रहेको बताउनुभएको हो ।
बढ्दो संख्यामा भूमिहिन रहेको उल्लेख गर्दै उहाँले राज्यले तत्काल भूमिहिनलाई जग्गा उपलब्ध गराई लालपुर्जा दिनुपर्ने बताउनुभयो ।
स्वदेशमा नै सीप सिकाएर युवाहरुलाई उद्यमशिलतामा जोडदिन राज्यले कृषि र पशुपालनमा ठूलो लगानी बढाउनुपर्ने तर्क गर्नुभयो ।
बढ्दो युवापुस्ता स्वदेशमा भबिस्य नदेखेर बिदेशीएको उल्लेख गर्दै सापकोटाले तत्काल राज्यले शिक्षा क्षेत्रमा सीपलाई अनिवार्य गराउनुपर्ने बिचार राख्नुभयो ।
गैंडाकोटमा अझैपनि पूर्वपश्चिम राजमार्ग भएर फैलिएको हाइवे सडकको अझै स्तरोन्नति हुन सकिरहेको छैन । झन्डै ५ बर्ष देखि निर्माणाधिन उक्त सडक धुलाम्य हुँदा सवारी दुर्घटना तिब्र बनिरहेको छ ।
साना तथा ठूला सडक अझै कालोपत्रे हुन नसकेको जिकिर गर्दै सापकोटाले आजको एक्काइसौं शताब्दीमा समेत नेटवर्कको समस्या झेल्नुपरेको बताउनुभयो ।
सालघारी र भागरका झन्डै ३०० घरधुरीमा नेटवर्कको समस्या रहेको सापकोटाले गुनासो गर्नुभयो । उक्त क्षेत्रमा एनसेलको नेटवर्क बाहेक नेपाल टेलिकमको नेटवर्कले काम नगरेको हो ।
नेटवर्क प्रभावित क्षेत्रमा तत्काल नेपाल टेलिकमको टावर राख्न नगरपालिकाको ध्यानाकर्षण गराइएको भएपनि सुनुवाइ नभएको सापकोटाले गुनासो गर्नुभयो ।