चितवन उद्योग संघ महिला उद्यमी मंचको आयोजनामा संचालित उद्यमशिल एक्स्पो तथा व्यापार मेलाको आज चौथोदिन पनि जारी छ ।
चितवन उद्योग संघको कृषि प्रदर्शनी केन्द्रमा भएको दोस्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापारमेला परिसरमा महिला उद्यमशिलता : सम्भाव्यता, अवसर र चुनौती विषयकमा समेत छलफल गरिएको थियो ।
उक्त छलफल कार्यक्रममा बोल्नुहुँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महिला उद्यमशिलताका कार्यक्रमलाई महानगरले निरन्तरता दिदै आएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमशिलतामा जोड्नु आजको अपरिहार्य आबश्यकता भएको बताउनुभएको छ ।
घरेलु एवं साना तथा ठूला योजनामा समेत महिला उद्यमशिलतामा जोडेर महानगरले समेत विभिन्न योजनाहरु अगाडि सारेको बताउनुभयो । विशेषगरी एकल महिलाहरुलाई अझ बढी उद्यमशिलतामा जोड दिएको जानकारी दिनुभयो ।
यसैगरी उद्योग वाणिज्य महाशाखा बागमती प्रदेशका भूमि व्यवस्था तथा प्रशासन मन्त्रालय प्रमुख महेशराज पौडेलले जिल्लामा ५ भन्दाबढी तालिम मन्त्रालयले संचालन गर्दै आएको बताउनुभएको छ । उहाँले राज्यले महिलाहरुका लागि थुप्रै सीपमुलक आयर्जनका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उद्यमी बन्न इच्छुक महिलाहरुलाई चेतना जगाएर रोजगारीमुलक क्षेत्रमा ल्याउन पहल गरिएको जनाउनुभयो ।
महिला लक्षित उद्यमशिलताका लागि कृषि सामाग्री र औजार हस्तान्तरणमा समेत मन्त्रालयले जोड दिएको बताउनुभयो । उत्पादनशिल क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको र अनुगमनको पक्ष फितलो बन्दै गएको उहाँको भनाइ थियो ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु रेग्मीले सहुलियत दर र कर्जामा महिलाहरुका लागि उद्यमशिलतामा जोड दिनुपर्ने बताउनुभएको छ । केही बैंकहरुमा बिना सूचना व्याज बढाउने प्रवृत्ति बढेको भन्दै तत्काल यसको निगरानीमा सरकार लाग्नुपर्ने तर्क गर्नुभयो । उद्यमशिलतामा बैंकहरुले समेत महिला उद्यमीलाई जोड्दै आएको समेत जिकिर गर्नुभयो । उत्पादनशिल क्षेत्रमा लगानी बढाउन समेत बैंक तत्पर रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा कृषि बिज्ञान तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापक डा. कल्याणी मिश्र त्रिपाठी, चितवन उद्योग संघ महिला उद्यमी मंच चितवनकी अध्यक्ष सिर्जना सोती लगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघ महिला उद्यमी मन्चले आयोजना गरेको एक्स्पो यही भदौ ११ गते मंगलबार समापन हुनेछ । उक्त एक्स्पोमा हस्तकला, बुटिक, कृषि जन्य उत्पादन, रैथाने खानाका परिकार, लोप हुन लागेका खाद्यान्नका परिकारहरु जस्तै, फापर, गहुँ, कोदो, मकै वा, केराको म:म आदि जस्ता परिकारहरुको स्टल समेत राखिएको छ ।