अन्तर सम्वाद
चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।
संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय कार्यरत रहँदै उहाँले संचार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभयो। यही अनुभवले उहाँलाई आज व्यवसाय र संस्थागत नेतृत्वमा समेत सक्षम बनाएको छ।
हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत भोलि पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२/०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ (क्र.सं. २) कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। यसै विषयसंग सम्बन्धित रहेर हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले उहाँसंग गर्नुभएको संक्षिप्त कुराकानी
यहाँलाई हार्दिक स्वागत पारदर्शी अनलाइनमा
धन्यवाद !
चितवन उद्योग वाणिज्य संघको निर्वाचनमा महिला उद्यमी तर्फ उम्मेदवारी दिनु भएको छ। यो निर्णय लिनुका मुख्य कारण के हो ?
म विगत लामो समयदेखि चितवनको व्यवसायिक क्षेत्रमा प्रत्यक्ष रूपमा आबद्ध छु। उद्योग वाणिज्य संघमा पछिल्ला चार वर्ष सक्रिय रहँदा व्यवसायीका समस्या, विशेषगरी महिला उद्यमीले भोग्नुपर्ने चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएँ। यही अनुभवका आधारमा संस्थागत सुधार, महिला उद्यमीको सशक्तिकरण र व्यवसायीका हकहितका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको हुँ।
तपाईंको व्यवसायिक यात्राको सुरुआत संचार क्षेत्रबाट भएको हो। यसले तपाईंलाई कसरी मद्दत गर्यो?
संचार क्षेत्र मेरो आधार हो। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय काम गर्दा अनुशासन, जिम्मेवारी, स्पष्ट अभिव्यक्ति र नेतृत्व सीप विकास भयो। संचारकर्मीको रूपमा सिकेको सुन्ने, बुझ्ने र समन्वय गर्ने क्षमताले आज व्यवसाय र संस्थागत नेतृत्वमा मलाई धेरै सहयोग गरेको छ।
हालको आर्थिक अवस्थालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ?
देश गम्भीर आर्थिक चुनौतीबाट गुज्रिरहेको छ। कोरोना महामारीपछिको सुस्तता अझै हट्न सकेको छैन, त्यसमा पछिल्ला आन्दोलन र अस्थिरताले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। साना तथा मझौला व्यवसायी अत्यन्तै प्रभावित छन्। यस्तो अवस्थामा राज्यले तत्काल र दीर्घकालीन आर्थिक सुधारलाई प्राथमिकतामा राख्नैपर्छ।
महिला उद्यमीका प्रमुख समस्या के–के देख्नुहुन्छ?
२१औँ शताब्दीमा आइपुग्दा पनि धेरै महिला अझै घरेलु सीमाभित्र सीमित हुन बाध्य छन्। आर्थिक संकटका कारण धेरै महिला उद्यमी व्यवसाय छाड्नुपरेको अवस्था छ। साना, मझौला र ठूला व्यवसायमा महिलाको समान सहभागिता अझै सुनिश्चित हुन सकेको छैन। वित्तीय पहुँच, नीति कार्यान्वयन र सामाजिक सोच सबै क्षेत्रमा सुधार आवश्यक छ।
उम्मेदवार बनेपछि महिलालाई केन्द्रमा राखेर के–कस्ता पहल गर्ने योजना छ?
निर्वाचित भएमा महिला उद्यमीको आवाजलाई संघभित्र मजबुत बनाउने मेरो प्राथमिकता हुनेछ। सीप विकास, वित्तीय पहुँच, नीति पैरवी र नेटवर्किङमा महिलालाई जोड्ने योजनामा काम गर्छु। महिला नेतृत्वलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न संघको भूमिका अझ प्रभावकारी बनाउन पहल गर्नेछु।
चितवन उद्योग वाणिज्य संघको भूमिकालाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ?
संघ केवल औपचारिक संस्था नभई व्यवसायीको भरोसाको केन्द्र बन्नुपर्छ। नीतिगत बहसमा अग्रसर हुने, सरकारसँग समन्वय बढाउने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने दिशामा संघलाई सक्रिय बनाइनुपर्छ। जनसम्पर्क, संस्थागत सामाजिक उत्तरदायित्व र ख्याति अभिवृद्धिमा पनि संघको भूमिका बलियो हुनुपर्छ।
तपाईं विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न हुनुहुन्छ। यस अनुभवले नेतृत्वमा के योगदान पुर्याउँछ?
अटोमोबाइल, हस्पिटालिटी, औषधी व्यवसायलगायत विभिन्न क्षेत्रमा काम गर्दा फरक–फरक प्रकृतिका समस्या र सम्भावना बुझ्ने अवसर पाएँ। चितवन र नवलपुरका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता, विभिन्न कम्पनीको निर्देशक तथा प्रोप्राइटरका रूपमा काम गर्दा व्यावहारिक निर्णय र दीर्घकालीन सोच विकास भएको छ।
अन्त्यमा मतदाता उद्योगी–व्यवसायीलाई के भन्न चाहनुहुन्छ?
म शालीन, सरल र कर्मशील स्वभावका साथ काम गर्दै आएकी छु। महिला अधिकारको कार्यान्वयन, व्यवसायीका हकहित संरक्षण र दिगो आर्थिक योजनामार्फत व्यवसायिक क्षेत्र सशक्त बनाउने स्पष्ट दृष्टिकोण मेरो छ। एकपटक अवसर दिनुहोस्, म तपाईंहरूको भरोसालाई कर्मबाट प्रमाणित गर्नेछु।

