Advertisement
पोल्यान्डमा क्रियाशील नेपाली समुदायको अग्रणी संस्था Non-Resident Nepali Association (NRNA) Poland को आयोजनामा “3rd NRNA Poland Sports Day 2026” अन्तर्गत युरोपस्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विशेषगरी महिला खेलाडीहरूको सहभागिता, सशक्तिकरण र खेल प्रतिभाको अभिवृद्धिलाई केन्द्रमा राख्दै यस वर्ष पहिलोपटक आकर्षक नगद पुरस्कारसहितको महिला भलिबल प्रतियोगिता समावेश गरिएको आयोजकले जनाएको छ।
उक्त प्रतियोगिता पोल्यान्डको राजधानी वार्सामा अवस्थित Obiektów Sportowych Hawajska (ul. Dereniowa 48, 02-776 Warszawa) मा आयोजना हुने तय भएको छ। प्रतियोगितामा युरोपभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
महिला भलिबल प्रतियोगितामा सहभागी टिमहरूका लागि दर्ता शुल्क पूर्ण रूपमा निःशुल्क राखिएको छ। विजेता टिमलाई १२०० पोलिश ज्लोटी (PLN) नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्रदान गरिनेछ भने उपविजेता टिमलाई ८०० PLN नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्रदान गरिनेछ। साथै प्रतियोगितालाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विभिन्न सरप्राइज पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, यो प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई महिला खेलाडीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा आपसी एकता र सशक्तिकरणको सशक्त माध्यमका रूपमा स्थापित हुने विश्वास गरिएको छ। पोल्यान्डमा रहेका नेपाली महिलाहरूको खेल क्षमता र सम्भावनालाई उजागर गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना रहेको बताइएको छ।
महिला भलिबल टिम दर्ताको अन्तिम मिति सन् २०२६ अप्रिल ३० तोकिएको छ। आयोजकले सम्पूर्ण इच्छुक दिदीबहिनीहरूलाई आफ्नो टिम गठन गरी समयमै दर्ता गराई यस ऐतिहासिक प्रतियोगिताको हिस्सा बन्न हार्दिक आह्वान गरेको छ।
खेलकुदमार्फत महिला सशक्तिकरणको सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोजना हुन गइरहेको यस प्रतियोगिताले युरोपस्थित नेपाली समुदायमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास गरिएको छ।
