पोल्याण्डमा रहेका नेपाली समुदायबीच एकता, संस्कृति र खेलकुदको भावना प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल मगर संघ शाखा पोल्याण्डले “प्रथम शहिद लखन थापा मगर स्मृति कप 2026” नामक 7A-SIDE खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी 15 अगस्त 2026 मा भव्य रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा पोल्याण्डसहित यूरोपका विभिन्न देशहरूमा रहेका नेपाली खेलाडी, टिम, संघ–संस्था तथा खेलप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य, संस्कृति र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको हो।
कार्यक्रममार्फत नेपालका प्रथम शहिद लखन थापा मगरको योगदान र स्मृतिलाई सम्मान गर्दै विदेशमा रहेका नेपाली समुदायलाई अझ सशक्त र संगठित बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
प्रतियोगितासम्बन्धी विस्तृत जानकारी, दर्ता प्रक्रिया तथा स्थानबारे विवरण चाँडै सार्वजनिक गरिने बताइएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न हार्दिक आग्रह गरेको छ।
