बालमनोवैज्ञानिक कथाकारका रूपमा परिचित कर्णबहादुर बानियाँ समीक्षा लेखनका क्षेत्रमा पनि उत्तिकै सक्रिय र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ । उहाँको समीक्षात्मक लेखन कसैलाई खुसी पार्ने उद्देश्यभन्दा माथि उठेर कृतिका सबल पक्ष र कमजोरीहरूलाई निष्पक्ष तथा निसंकोच ढंगले प्रस्तुत गर्ने विशेषताले चिनिन्छ।
बानियाँको चर्चित कृति ‘अनेक सृष्टि एक दृष्टि’ नेपाली साहित्यका विभिन्न विधाका कृतिहरूमाथि गरिएको गहन अध्ययन, विश्लेषण र समालोचनात्मक दृष्टिकोणको सशक्त दस्तावेज हो । पुस्तकमा उहाँले नेपाली साहित्यका आख्यान, काव्य, नाटक तथा निबन्ध विधाका कृतिहरूलाई सूक्ष्म अध्ययन गरी समालोचकीय चेतसहित चिरफार गर्नुभएको छ । साहित्यका विविध विधामा समान रूपमा कलम चलाउन सक्नु उहाँको गहिरो अध्ययन, अनुभव र जिम्मेवार साहित्यिक दृष्टिको प्रमाण मानिन्छ।
कृतिमा सम्बन्धित लेखकका सकारात्मक पक्ष तथा कमी-कमजोरीहरूको मात्र चर्चा गरिएको छैन, आगामी सिर्जनात्मक यात्राका लागि उपयोगी सुझावसमेत प्रस्तुत गरिएको छ । यसले लेखकहरूलाई आत्ममूल्याङ्कन र सिर्जनात्मक परिमार्जनका लागि बौद्धिक खुराक प्रदान गर्ने विश्वास गरिएको छ।
बानियाँले यसअघि पनि विभिन्न साहित्यिक कृतिहरू प्रकाशन गरिसक्नुभएको छ । ‘अनेक सृष्टि एक दृष्टि’ मा समेटिएका विषयवस्तुहरू वास्तविक जीवनसँग मेल खाने, पुराना सामाजिक चलनचल्ती तथा अघिल्लो पुस्ताले भोगेका अनुभव र घटनासँग केन्द्रित रहेका छन्।
वि.सं. २०८२ कात्तिकमा पहिलो संस्करण प्रकाशित भएको उक्त कृतिको मूल्य रु. ३७५ निर्धारण गरिएको छ । पुस्तकको प्रकाशन साहित्य संगम चितवनले गरेको हो।
चार खण्डमा विभाजित यस कृतिको पहिलो खण्डमा आख्यान, दोस्रो खण्डमा काव्य, तेस्रो खण्डमा नाटक र चौथो खण्डमा निबन्धसम्बन्धी समीक्षाहरू समेटिएका छन्। साहित्यिक समीक्षा र समालोचनामा रुचि राख्ने पाठकका लागि यो कृति महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्ने अपेक्षा गरिएको छ।
