चितवनमा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले विश्व रक्तदाता दिवसको अवसर पारेर जेठ ३० गते ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ।
ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने महोत्सवमा ठूलो संख्यामा रक्तदाता सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष आयोजित पहिलो महोत्सवमा एकै दिन १ हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो।
सोसाइटीका अध्यक्ष अञ्जन दवाडीले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै रगतको अभाव हुन नदिन महोत्सव आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियानलाई मानवीय र सकारात्मक कार्यको संज्ञा दिँदै आवश्यक सहयोग रहने बताउनुभयो भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले सुरक्षाकर्मीलाई समेत रक्तदानमा सहभागी गराइने जानकारी दिनुभयो।
आयोजकले मानवताको महान् अभियानमा सहभागी भई रक्तदान गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन्।

