सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पारे ।
उनले चलचित्र क्षेत्रको योगदानलाई अमूल्य भन्दै कान्समा प्राप्त सफलता देशका लागि पनि गौरवको विषय भएको बताए ।
‘आज यहाँ भएको सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन । यो चलचित्र समूहले देश र सरकारलाई एउटा अमूल्य उपहार दिएको अनुभूति भएको छ,’ उनले भने ।
मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा छलफलमा रहेको सम्बन्धित विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन चलचित्रकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताए । कलाकार, निर्माता तथा सरोकारवालासँग संयुक्त छलफल गरेर सुझावलाई विधेयकमा समेटिने उनको भनाइ थियो ।
उनले विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने विषयमा धेरै बहस हुने गरे पनि लगानी कसरी सिर्जना गर्ने, कसरी उत्पादन गर्ने र कसरी आम्दानी बढाउने भन्ने विषयमा अपेक्षाकृत कम छलफल हुने गरेको उल्लेख गरे । चलचित्र क्षेत्रले देश, समाज र अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान दिने भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको उनको धारणा थियो ।
