इलाम, जेठ २८ – इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी गर्दै आत्मनिर्भर बन्न थालेका छन्। करिब ८० घरधुरी किसानले अन्नबाली उत्पादन हुने जमिनमा केरा खेती विस्तार गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।
किसान टुपेन्द्र लिम्बूले एक हजार बोट केरा रोपेर वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताउनुभयो। यस्तै, मिलन राईले ५०० बोट केराबाट वार्षिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै खेती विस्तारको तयारी गर्नुभएको छ।
किसानका अनुसार केरा खेतीमा कम लगानी, कम मेहनत र छिटो आम्दानी हुने भएकाले यसको आकर्षण बढ्दै गएको हो। उत्पादन भएको केरा व्यापारीले बगानमै पुगेर खरिद गर्ने भएकाले बजारको समस्या पनि छैन।
सडक तथा यातायात पहुँच विस्तारसँगै बोरुङमा उत्पादित केरा झापा, मोरङ, सुनसरी हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ। यसले दक्षिणी इलामका किसानलाई व्यावसायिक केरा खेतीतर्फ थप उत्साहित बनाएको छ।
