देवघाट ब्याडमिन्टन संघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनिल मिश्रको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले खेलकुद विकासका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै ब्याडमिन्टन खेलको पूर्वाधार विकास र कभर्डहल निर्माणका लागि थप पहल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संघका अध्यक्ष मिश्रले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै देवघाट क्षेत्रमा ब्याडमिन्टन खेलको विकास, युवाको सहभागिता वृद्धि, प्रशिक्षण तथा विभिन्न प्रतियोगितामार्फत खेलको पहिचान स्थापित गर्न संस्था सक्रिय रहेको बताउनुभयो । उहाँले कभर्डहल निर्माण, खेल सामग्री व्यवस्थापन तथा प्रशिक्षक अभाव अझै चुनौतीका रूपमा रहेको जानकारी दिनुभयो ।
अधिवेशनबाट उपाध्यक्षमा सुजन गुरुङ, सचिवमा आशिक राना, सहसचिवमा बिनेश शारु मगर, कोषाध्यक्षमा अर्जुन सापकोटा चयन हुनुभएको छ । सदस्यहरूमा चन्दन वगाले, संजय थापा, दिपेन्द्र सिंजाली र तिलकप्रसाद न्यौपाने चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नकुमार खड्का, समाजसेवी चन्द्रप्रकाश दवाडी, शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आजीवन सदस्यलाई प्रमाणपत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
