चितवनको रत्ननगर–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै वाइन र ब्रान्डी उत्पादनमा सफलता हासिल गर्नुभएको छ ।
१५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका सापकोटाले बारीमै खेर जाने केराको सदुपयोग गर्ने उद्देश्यले अनुसन्धान थालेपछि केराबाट मदिराजन्य पेय पदार्थ उत्पादन गर्न सफल हुनुभएको हो ।
उहाँको एण्ड बी केरा फार्ममा करिब १२ बिघा क्षेत्रफलमा केराखेती हुँदै आएको छ । कृषि विकास कार्यालय भरतपुरको सहयोगमा गरिएको परीक्षणबाट केराको वाइन उत्पादन सफल भएको र ब्रान्डी उत्पादन पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
एक पटकमा ५०० केजी पाकेको केराबाट करिब २०० लिटर वाइन उत्पादन गर्न सकिने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन र बजार विस्तार गर्ने तयारी भइरहेको छ ।
केराबाट बनेका विभिन्न परिकारसहितको आउटलेटसमेत सञ्चालन गर्दै आउनुभएका सापकोटाले चितवनको केरालाई स्थानीय पहिचान र कृषि पर्यटनसँग जोड्ने लक्ष्य राख्नुभएको छ ।
