चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ ।
बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक जीवनमा सशक्त प्रयोग गरिरहनुुभएकी उहाँले यसबीचमा धेरै सङ्ख्यामा मूर्तिहरू निर्माण गरिसक्नुुभएको छ । देशका विभिन्न स्थानमा उहाँले तयार गरेका मूर्तिहरू पुगिसकेका छन् भने ठाउँठाउँमा हुने गरेको विभिन्न मूर्ति कार्याशालामा पनि उहाँको माग उत्तिकै बढ्दो छ ।
हालै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित मझुवागढी मूर्ति कार्याशाला पुुगेर उहाँले साप्सु खोलाका ढुङ्गामा हेर्दै मनमोहक लाग्ने प्रकृतिपरक चरी अमिलीको पात निर्माण सम्पन्न गरिसक्नुुभएको छ । उहाँले तयार गरेका विभिन्न स्थानमा सजाइएका मूर्तिले पनि उहाँको मूर्तिकारितालाई थप चर्चामा पुर्याएका छन् ।
चितवनको भरतपुुर विमानस्थल अगाडि रहेको बाघको मूर्ति उहाँले नै निर्माण गर्नुभएको हो । त्यस्तै कोहोलपुरको चौराहामा राखिएको बाघ, हात्ती आदिको मूर्ति, चितवनको भरतपुर महानगरपालिका–२२ वडा कार्यालय अगाडि कमलपोखरीको बीचमा राखिएको कमलको फूल, भरतपुर– २३ घैलाघारीमा राखिएको घैलासहितको महिलाको मूर्तिका कारण उहाँको मूर्तिकारिताले चर्चा पाउने गरेको छ ।
गोरखाको मनकामनामा राखिएको हातले सुन्तला थामेको मूर्तिदेखि रामपुरको विश्वविद्यालय अघि राखिएको नौ फिटको मकै, मैघौलीमा रहेको घैला बोकेको थरूनीको मूर्ति, नेपालगन्जको चिल्ड्रेन पार्कमा राखिएका गैँडाको माउ, बच्चा, हात्ती, बाघ आदिका मूर्तिहरू उहाँले निर्माण गर्नुभएको हो । आफ्ना दाजुु भीम श्रेष्ठको प्रेरणाले बाल्यवस्थादेखि नै मूर्तिकलाका क्षेत्रमा आकर्षित बन्नुुभएकी श्रेष्ठ स्कुले जीवनका क्रममा पनि विभिन्न पेन्टिङहरू गर्ने गरेको अनुभव सुनाउनुुहुन्छ ।
चितवनको पोखरा बसपार्कस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी सन् १९९९ मा ललितकला क्याम्पसमा प्रमाणपत्र तहमा भर्ना हुनुभएकी श्रेष्ठले त्यहीँबाट फाइन आर्ट विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।
स्नातक तहको पढाइ सन् २००४ मा सकेर काठमाडौँको सृजना क्याम्पसमा करिब पाँच–सात महिना मूर्तिकला पढाएपछि थप अध्ययनका लागि जर्मन जानुुभएकी उहाँले त्यहाँ पढाइसँगै त्यहाँ करिब छ वर्ष बिताएर स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किएको बताउनुभयो ।
“जर्मनबाट फर्केपछि पछिल्ला १० वर्षयता मूर्तिकारिताका क्षेत्रमा निरन्तर लागिरहेकी छुु”, उहाँले भन्नुुभयो, “मूर्तिकारिताका क्षेत्रमा इमान्दार र जिम्मेवार भएर लाग्न सकेमा रोजगारीकै लागि कोही पनि भौँतारिनुपर्ने अवस्था छैन ।” ललितकलाका क्षेत्रमा मूर्तिकारिताको अध्ययनमा लागिरहेका युवायुवतीलाई उहाँले उच्च मनोवलका साथ आफ्नो अध्ययनलाई पूरा गर्न पनि सुझाउनुुभयो ।

