वार्सा। नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा पोल्याण्डमा आयोजित प्रथम सहिद लखन थापा मगर स्मृति ७ ‘ए’ साइड फुटबल प्रतियोगिता–२०२६ को उपाधि डेनमार्कको कोपेनहेगन ब्वाइज एफसीले जितेको छ।
वार्सास्थित ०१–४९४, वसिर वेमोभो खेल मैदानमा शनिबार राति सम्पन्न रोमाञ्चक फाइनलमा कोपेनहेगन ब्वाइजले पोल्याण्डको चुलो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाएको हो।
प्रतियोगिता नेपाल मगर संघ शाखा पोल्याण्डको आयोजनामा भएको थियो। प्रतियोगितामा पोल्याण्डसहित डेनमार्क र माल्टाबाट समेत टोलीको सहभागिता रहेको थियो।
उपाधि जितेको कोपेनहेगन ब्वाइज एफसीले ८ हजार ज्लौटी अर्थात् करिब ३ लाख ३० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता चुलो एफसीले ५ हजार ज्लौटी अर्थात् करिब २ लाख ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ।
त्यस्तै तमु ब्रदर एफसी तेस्रो हुँदै ३ हजार ज्लौटी अर्थात् करिब १ लाख १५ हजार रुपैयाँ प्राप्त गर्दा खुकुरी एफसीले सान्त्वना स्थान हासिल गर्दै १ हजार ५५५ ज्लौटी अर्थात् करिब ६५ हजार रुपैयाँ पुरस्कार पाएको छ।
प्रतियोगितामा कोपेनहेगन ब्वाइज एफसीका एलन राई उत्कृष्ट खेलाडी घोषित भए।
त्यस्तै तमु ब्रदर एफसीका विपिन तामाङ सर्वाधिक गोलकर्ता बने।
अन्य विधातर्फ कोपेनहेगन ब्वाइजका रोशन बोहोरा उत्कृष्ट डिफेन्डर र सोही टोलीका किसन गुरुङ उत्कृष्ट गोलकिपर घोषित
पोल्याण्डमा नेपाली संघसंस्थाले आयोजना गरेका फुटबल प्रतियोगितामध्ये यस प्रतियोगितामा अहिलेसम्मकै ठूलो सहभागिता देखिएको आयोजकले जनाएको छ। प्रतियोगितामा कुल २४ फुटबल क्लब सहभागी थिए।
सहभागीमध्ये पोल्याण्डबाहिरबाट डेनमार्कको कोपेनहेगन ब्वाइज एफसी र माल्टाको मगर समाज फुटबल क्लब सहभागी भएका थिए भने बाँकी २२ टोली पोल्याण्डकै रहेका थिए।
प्रतियोगिताले खेलकुदसँगै नेपाली मौलिक कला र संस्कृतिलाई समेत जोडेको थियो। खेल चलिरहँदा मगर संघसँग आबद्ध कलाकारहरूले मौलिक मगर पोसाकमा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै मैदानमा थप रौनक सिर्जना गरेका थिए।
यसले प्रतियोगितालाई केवल फुटबल प्रतियोगितामा सीमित नराखी नेपाली पहिचान, संस्कृति र सामुदायिक एकताको उत्सवका रूपमा समेत प्रस्तुत गरेको थियो।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल मगर संघ शाखा पोल्याण्डका संरक्षक भविन्द्र गाहा मगर, अध्यक्ष नवराज राना मगर तथा एनआरएनए आईसीसीका पूर्वसदस्य भीमबहादुर खड्काले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।
सामाजिक, सांस्कृतिक र खेलकुदका कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको नेपाल मगर संघ शाखा पोल्याण्डले यस प्रतियोगितामार्फत पोल्याण्डमा रहेका नेपाली समुदायलाई खेलकुदसँगै आफ्नो इतिहास, संस्कृति र पहिचानसँग जोड्ने प्रयास गरेको देखिन्छ।
लखन थापा मगरको स्मृतिमा आयोजित पहिलो संस्करणमै २४ टोलीको सहभागिता र अन्तर्राष्ट्रिय टोलीको उपस्थितिले प्रतियोगितालाई पोल्याण्डस्थित नेपाली समुदायको उल्लेखनीय खेलकुद कार्यक्रमका रूपमा स्थापित गरेको छ।
