गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन १३ बुँदे मौलाकालिका संकल्पपत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, बलझुण्डी दाङको आयोजनामा नवलपुरको गैंडाकोटस्थित मौलाकालिका संस्कृत विद्यापीठ तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर परिसरमा कार्तिक २८ गतेदेखि ३० गतेसम्म तीनदिने सम्मेलन आयोजना गरिएको थियो
सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न गुरुकुलका सञ्चालक, पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।
सम्मेलनको मुख्य उद्देश्य गुरुकुल शिक्षा प्रणालीको संरक्षण, संवद्र्धन, विकास र विस्तार गर्दै वर्तमान समयका चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्ने गरी संकलल्प पत्र जारी गरिएको सदस्य सचिव रामचन्द्र कंडेलले जानकारी दिए ।
सम्मेलनले नेपालको मौलिक वैदिक परम्परा, संस्कृत शिक्षा, धार्मिक तथा नैतिक मूल्य–मान्यताको संरक्षण गर्दै गुरुकुल शिक्षालाई समयानुकूल र प्रभावकारी बनाउने प्रतिबद्धतासहित १३ बुँदे संकल्पपत्र जारी गरेको हो ।
संकल्पपत्रमा गुरुकुलहरूको प्रवद्र्धन र विकासका लागि सामूहिक एकता तथा सहकार्य गर्ने, वैदिक परम्परा र पौरस्त्य धर्मसंस्कृतिको संरक्षण गर्दै आधुनिक आवश्यकतालाई आत्मसात् गर्ने, गुरुकुल शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने र गुरुकुलबीच देखिने आन्तरिक तथा बाह्य समस्यालाई संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी गुरुकुलहरूको भौतिक सम्पत्तिको संरक्षण, स्रोत वृद्धि तथा प्रभावकारी सञ्चालन, गुरुकुल परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने, शिक्षक तथा कर्मचारीको क्षमता विकास गर्ने र विद्यार्थीलाई योग्य, नैतिकवान् तथा प्रतिस्पर्धी बनाउने विषयलाई पनि संकल्पपत्रमा समेटिएको छ ।
