प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, निःशुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने, जुम्लाका स्याउको बजारीकरण गर्नुपर्नेलगायत विषय उठाउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विगत ९५ दिनदेखि आफ्नोले दल भिजिट भिसा प्रकरणलाई लिएर सदनमा छानबिनको माग गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको बताउनुभयो । विरोधका आवाजलाई दमन गरेर संसदीय व्यवस्था बलियो नहुने उहाँले तर्क गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बजारीकरण गर्नुपर्ने र अर्गानिक आन्तरिक उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विदेशी स्याउ बढी आयात हुँदा नेपालभित्रको उत्पादनले बजार पाउन नसकेकाले केही समय आयात रोक्न सके यहाँको उत्पादनले बजार पाउने उहाँको भनाइ छ ।
वर्षाका कारण अवरुद्ध जुम्ला जोड्ने सडक लामो समयदेखि खुल्न नसकेको उल्लेख गर्दै सांसद शाहीले अवरुद्ध बाटो खुलाउन पर्याप्त उपकरण परिचालन गरिनुपर्ने बताउनुभयो । आफ्नो दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै आएको बताउँदै उहाँले उक्त विषयमा सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो ।

