“साङ्केतिक भाषा अधिकार बिना मानव अधिकार सम्भव छैन” भन्ने नारासहित आजदेखि भरतपुरमा दुई महिने आधारभूत नेपाली साङ्केतिक भाषा तालिम सुरु भएको छ ।
राष्ट्रिय बहिरा महासंघ नेपाल रानीबारी, काठमाडौंको आयोजनामा सञ्चालन भएको उक्त तालिममा देशभरका १३ जिल्लाबाट बहिरा अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा बहिरा भएकै कारण धेरै व्यक्तिहरू रोजगारीबाट वञ्चित भएको उल्लेख गर्दै सीप र क्षमताका आधारमा जिविकोपार्जनका अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता रहेको जनाइएको छ ।
महासंघका अध्यक्ष सन्तोष केसीले अझै पनि बहिरा तथा अपांगता भएका व्यक्तिप्रति राज्यले पूर्ण रूपमा समान अधिकार सुनिश्चित गर्न नसकेको बताउनुभयो । यद्यपि, नयाँ बन्ने सरकारमा आफ्नो समुदायको प्रतिनिधित्व बढेकोप्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
उहाँका अनुसार अपांगता भएका व्यक्तिहरूले आफ्नो सीप र क्षमताअनुसार रोजगारी पाउन सके मात्र वास्तविक रूपमा समान अधिकारको सुनिश्चितता हुनेछ ।
