पोल्याण्ड— जर्मनीमा रहेका नेपालका बहुमूल्य ऐतिहासिक हस्तलिखित सामग्री स्वदेश फर्काउने महत्वपूर्ण प्रक्रिया अगाडि बढेको छ। जर्मनीको हाइडलबर्ग विश्वविद्यालयअन्तर्गत साउथ एसिया इन्स्टिच्युटमा सुरक्षित राखिएका नेपालसम्बन्धी प्राचीन दस्तावेज नेपाल ल्याउन औपचारिक सम्झौता सम्पन्न भएको हो।
हाइडलबर्ग विश्वविद्यालयमा आयोजित विशेष समारोहबीच उक्त सामग्री हस्तान्तरणसम्बन्धी सम्झौतामा नेपाली राजदूतावास, बर्लिनका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल र इन्स्टिच्युटका संस्कृतिविद् प्रोफेसर डा. आक्सेल मिखाइल्सले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नेपालले १३औँ शताब्दीदेखि १८औँ शताब्दीसम्मका भूजिमोल लिपिमा लेखिएका संस्कृत तथा नेवारी भाषाका ४६५ वटा ताडपत्र प्राप्त गर्नेछ। साथै, सन् १८५० देखि १९५० सम्मका शाह तथा राणा शासनकालसँग सम्बन्धित ३१७ अभिलेख, राणा प्रधानमन्त्रीहरूको शासनकालमा लेखिएका वातावरणसम्बन्धी कृतिहरू, कानुनसम्बन्धी पाँच पाण्डुलिपि तथा औषधि, तन्त्र, राजनीतिक नैतिकता र हात्ती प्रजननसम्बन्धी चार पाण्डुलिपि पनि नेपाललाई हस्तान्तरण गरिनेछ।
यी सम्पूर्ण सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिने जनाइएको छ। सामग्री नेपालसम्म ढुवानी गर्न लाग्ने सम्पूर्ण खर्च प्रोफेसर मिखाइल्सले व्यहोर्ने सहमति भएको छ।
उल्लेखनीय छ कि यी सामग्री जर्मन व्यावसायी तथा फिलाटेलिस्ट जोसेफ पिटर रिन्डफ्लाइचले सन् १९८० र ९० को दशकमा संकलन गरेका थिए। सन् २००२ मा उनको निधन भएपछि उनका छोराले उक्त सामग्री नेपाल फर्काउने इच्छा व्यक्त गरेका थिए। त्यसपछि सन् २०१८ मा ती सामग्री प्रोफेसर मिखाइल्सको संरक्षकत्वमा पुगेका थिए।
यसैक्रममा, इन्स्टिच्युटमा कार्यरत नेपाली अनुसन्धानकर्ता डा. राजन खतिवडाले करिब अढाई वर्षअघि नेपाली राजदूतावास जर्मनीका तत्कालीन नियोग उपप्रमुख सागर फुयालसँग समन्वय सुरु गरेपछि सामग्री फिर्ता ल्याउने प्रक्रिया तीव्र भएको हो।
यो सम्झौतासँगै नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पुनःप्राप्तिमा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ।
