नेपाल–रोमानिया द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक
बर्लिन, ४ मे २०२६ — नेपाल र रोमानियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थापना गरिएको बाइल्याटरल कन्सल्टेसन मेकानिज्म (BCM) को पहिलो बैठक आज रोमानियाको राजधानी बुखारेस्टस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ।
बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप डिभिजनका प्रमुख, सहसचिव गणेश प्रसाद ढकाल नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो भने रोमानियाको तर्फबाट एशिया प्रशान्त तथा ल्याटिन अमेरिका निर्देशनालयकी कार्यवाहक महानिर्देशक डायना टासेले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन्।
नेपाली प्रतिनिधिमण्डलमा बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर प्रसाद फुयाँल, परराष्ट्र मन्त्रालयका उपसचिव उत्तम घिमिरे तथा तृतीय सचिव दीपेन्द्र प्रसाद साह सहभागी थिए। रोमानियाली पक्षबाट सम्बन्धित निर्देशनालय र कन्सुलर विभागका अधिकारीहरू उपस्थित थिए।
बैठकमा नेपाल–रोमानिया सम्बन्धका विभिन्न आयामहरूमा छलफल भएको थियो। विशेषगरी आर्थिक सहकार्य, जनस्तरको आदान–प्रदान, श्रम तथा कन्सुलर सेवा, र बहुपक्षीय सहकार्यका विषयमा विचार आदान–प्रदान गरिएको थियो। साथै ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
नेपालले रोमानियालाई काठमाडौंमा आफ्नो कूटनीतिक नियोग स्थापना गर्न अनुरोध गरेको छ। रोमानियामा गैर–युरोपेली मुलुकमध्ये सबैभन्दा ठूलो आप्रवासी श्रमिक समूह नेपाली रहेको उल्लेख गर्दै रोमानियाली पक्षले पनि नेपालले रोमानियामा आफ्नो दूतावास खोल्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
रोमानियाले आफ्नो अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गरेको छ। सहसचिव ढकालले नेपाली नागरिकलाई अवसर उपलब्ध गराएकोमा रोमानिया सरकारप्रति आभार व्यक्त गर्दै कन्सुलर सेवाहरू थप सहज बनाउन आग्रह गरेका छन्। हाल रोमानियामा ५५ हजारभन्दा बढी नेपाली विभिन्न पेशामा कार्यरत रहेको अनुमान गरिएको छ।
बैठकअघि सहसचिव ढकाल र रोमानियाका परराष्ट्र मन्त्रालयकी राज्यमन्त्री आना क्रिस्टिना टिन्काबीच BCM स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। साथै, द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सहकार्यका सम्भावनाहरूबारे पनि छलफल भएको जनाइएको छ।
— समाप्त —
