वार्सामा किराँत समुदायले मनायो साकेला उभौली यलदोङ ५०८६
वार्सा — पोल्यान्डको राजधानी वार्सामा बसोबास गर्ने किराँत समुदायले साकेला उभौली यलदोङ ५०८६ को अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। कार्यक्रममा नेपालबाट टाढा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाउँदै समुदायबीच एकता र सद्भाव कायम गर्ने सन्देश दिइएको थियो।
उभौली पर्व किराँत समुदायको प्रकृति, कृषि र ऋतुसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण पर्व हो। प्रत्येक वर्ष वैशाख पूर्णिमाको अवसरमा मनाइने यस पर्वले खेतीपातीको सुरुवात, नयाँ ऋतुको आगमन तथा उर्वरता र समृद्धिको कामना गर्ने विश्वास बोकेको हुन्छ। यस अवसरमा अन्नबाली राम्रो होस्, प्राकृतिक विपत्ति तथा रोग–कीराबाट जोगिन सकियोस् भन्ने उद्देश्यले प्रकृतिपूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।
कार्यक्रमको मुख्य आकर्षण साकेला सिली नृत्य रहेको थियो। ढोल, झ्याम्टा लगायतका पारम्परिक बाजागाजाको तालमा सहभागीहरूले सामूहिक रूपमा सिली नृत्य प्रस्तुत गरेका थिए। सिली नृत्यमार्फत कृषि, सिकार, प्रकृतिसँगको सम्बन्ध, सामाजिक जीवन तथा सामूहिक एकताको भावलाई सांकेतिक रूपमा अभिव्यक्त गरिएको थियो।
आयोजकहरूले विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका छन्। कार्यक्रममा सहभागीहरूले यस्ता सांस्कृतिक गतिविधिले पोल्यान्डमा रहेका नेपाली समुदायलाई अझ नजिक ल्याउने तथा आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न संघसंस्था, समुदायका अगुवा, युवा तथा नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले किराँत समुदायको महान् चाड साकेला उभौलीले नेपाल र प्रवासमा रहेका नेपालीबीच सांस्कृतिक एकता, सद्भाव र सहकार्यको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
